“कुलु रिदुम्” पुस्तक विमोचनको अवसरमा मन्तव्य तथा शुभकामना सन्देश – डा. सिएम खम्बू

प्रेमचन्द्र कुलुङ
Latest posts by प्रेमचन्द्र कुलुङ (see all)

२०८२ श्रावण १७ गते देवीगाँउ, धरान, सुनसरीमा भएको ‘कुलु रिदुम्’ विमोचन कार्यक्रममा सुक्खिम्, भारत निवासी डा. सिएम खम्बूज्यूको शुभकामना सन्देश । ‍‍

सम्माननीय प्रमुख अतिथिज्यू,
कार्यक्रमका आयोजक: नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघका महासचिवज्यू एवं अन्य पदाधिकारी गण,
कुलुङ भाषा साहित्यका साहित्यिक तथा बौद्धिक स्रष्टाहरू, र त्यहाँ उपस्थित सम्पूर्ण महानुभावहरू—
खोलोपि सेवा के !
(सबैमा हार्दिक नमस्कार !)

[कारणवश यहाँहरूको यस महत्वपूर्ण कार्यक्रममा भौतिक उपस्थित हुन नसकेकोप्रति खेद प्रकट गर्दै, आफ्नो मन्तव्य तथा शुभकामना सन्देश मान्यवर सञ्चालकज्यूमार्फत प्रस्तुत गरिदिनुहुन अनुरोध गर्दछु। स्वीकार्नुहोला।]

मान्यवरज्यू,

सर्वप्रथम, “कुलु रिदुम” ग्रन्थ विमोचन समारोहमा विशिष्ट अतिथिका रूपमा निमन्त्रणा गरिएकामा आयोजक समितिप्रति हार्दिक आभार प्रकट गर्दछु। यो निमन्त्रणालाई म कुलुङ भाषा र संस्कृतिप्रति अभिव्यक्त गरिएको प्रेम, आस्था, र साझा उत्तरदायित्वका रूपमा ग्रहण गर्दछु।

आज हामी यो सुनौलो ऐतिहासिक क्षणमा एउटा यस्तो भाषिक समुदायको बारेमा चर्चा गर्न गइरहेका छौं, जसले हजारौं वर्षदेखि आफ्नो मौलिक भाषा, धर्म, र संस्कृतिको संरक्षण गर्दै आएको छ। यो एउटा छुट्टै मौलिक पहिचान बोक्न सफल बनेको किरात वंशका एक प्रमुख अवशेष हुन्- कुलुङ जाति। जसको पहिचान केवल भौगोलिक होइन- सांस्कृतिक, भाषिक र ऐतिहासिक दृष्टिले पनि विलक्षण रहेको छ। नेपालको सोलुखुम्बु (महाकुलुङ) देखि फैलिएर भोजपुर, संखुवासभा हुँदै भारतको सिक्किम, दार्जिलिङ, कालेबुङ, जलपाइगडी, आसाम अनि भूटान र हङकङसम्म छरिएर बसेको यो समुदाय नै मौन इतिहासका जीवित दस्तावेजहरू हुन्- जहाँ शब्द नभए पनि परम्परा बोल्दछ, लिपि नभए पनि गाथा बन्दछ।

यही मौन गाथालाई लिपिबद्ध गर्ने एउटा ऐतिहासिक, सृजनात्मक र प्राज्ञिक प्रयास हो- “कुलु रिदुम” ग्रन्थ। किराती दस्तुरमा युगौंदेखि श्रुतिपरम्पराको वाङ्मयलाई थुतुनोको भरमा पुस्तान्तरण हुँदै आएकोलाई ‘थुतुरी वेद’ भनेर जनमानसमा बुझाइँदै आएको छ। यी असैद्धान्तिकृत मौखिक ज्ञान, रीसीवा तथा मुन्दुमको अवशेषहरू पीढीदर पीढी मुखै-मुख सर्दै आएका छन्। तर अहिलेको डिजिटल युगमा जहाँ मौखिकता र मौलिकता हराउँदैछ, त्यस्तो ज्ञानलाई लेख्य दस्तावेजको रूपमा रूपान्तरण गरिनु केवल काम होइन, यो एउटा संघर्ष नै हो- जो, साँस्कृतिक आत्मरक्षाको लागि गरिने प्रतिरक्षात्मक संघर्ष। त्यो मात्र नभएर स्वमातृभाषामा लेखिएको कुनै पनि साहित्य त्यस समुदायको अस्तित्व र आत्मचेतनाको बिम्ब पनि हो, जब कि कुनै जातिले आफ्नो भाषा-संस्कृति मेटाउन चाहन्छ भने, त्यो केवल उसको बोली-भाषा मात्र मेटिने होइन- त्यो समाजको सम्पूर्ण स्मृति, सोच्ने तरिका, ज्ञानको सङ्ग्रहशक्ति र भविष्य नै मेटिएर जाने हुन जान्छ। यिनै कारणले गर्दा आजको जस्तै प्रकाशन कार्यहरूलाई सामाजिक आन्दोलनकै सरह ठान्नुपर्दछ।

विशेषतः मुन्दुमी परम्पराका कुलुङ जातिका लागि यो “कुलु रिदुम” धर्म, दर्शन र सांस्कृतिक अनुशासनको एउटा धर्म संहिता नै तयार भएको छ। यसको महत्त्व भनेको मुन्दुमी अनुयायीहरूको निम्ति विश्वका स्थापित धर्मग्रन्थहरू- गीता, बाइबल, धम्मपद र कुरान भन्दा कम हुने छैन। यस्ता महान कार्यका निम्ति ग्रन्थका लेखक तथा सम्पादक प्रेम सम्फोरु (किराती)ज्यूले यो सङ्घर्षलाई अघोषित आध्यात्मिक व्रतको रूपमा साधना गर्नुभएको छ। सरकारी जागिरको व्यस्त जिम्मेवार पदमा रहेर पनि, आफ्ना पुर्खाका बाटाहरू पछ्याउँदै, भ्याइ-नभ्याइकन प्राप्त स्थानीय श्रोतव्यक्तिहरूसित समन्वय गरी अहोरात्र लेखनमा डुबेर उहाँले आफ्नो मातृभाषा र कुलुङ सभ्यतालाई विश्व समाजमा उभाउन सफल हुनुभएको छ। यो केवल चिरस्मरणनीय र स्तुत्य कार्य नभइ यस्ता कर्मशील व्यक्तिहरूलाई समुदायले सम्मानले मात्र होइन, पुस्तौंसम्म अनुगृहीत रहनु कर्तव्य पनि बनेको छ। यो केवल प्रेम सम्फोरुज्यूको मात्र किताब बनिएको होइन- यो समग्र कुलुङ जातिको सामूहिक योगदानको प्रतीक पनि हो, जसमा जङ्गबहादुर दावार जस्ता चित्रकारको प्रासङ्गिक योगदान पनि उत्तिकै मूल्यवान् रहेको छ।

अनि “कुलु रिदुम्” केवल कर्मकाण्डको सूची होइन-यसले देखाउँछ कि एउटा जातिले आफ्नो सामाजिक रीतिथिति, आचार संहिता, जन्म तथा मृत्यु संस्कार, विवाहप्रणाली जस्ता अन्तरसम्बन्धको प्रथाजनित विधिहरू आफैँले बनाएको भनेर। यो ग्रन्थ कुलुङहरूको मौलिक सभ्यताको यस्तो दस्तावेज पनि हो- जहाँ राज्यको हस्तक्षेप बिना नै समाजलाई चलाउने आफ्नै कानुन, आचार संहिता, परम्परा र नैतिक मूल्यहरू थिए वा छन् भनेर बुझ्न गाह्रो पर्दैन। आज हामीले “कुलु रिदुम्” को विमोचन गरेर केवल एक कृति जन्माएका छैनौं- हामीले आउने कुलुङ पुस्ताहरूलाई  मार्गदर्शन र आत्मगौरव जस्ता अमूल्य निधि पनि हस्तान्तरण गरेका छौं। आजको कार्यक्रम एउटा सुन्दर सन्देश पनि हो, जहाँ हामी मेटिँदै छैनौं तर, लेखिँदैछौं। आजको पुस्तालाई यो कृति पढेपछि अवश्य  थाहा हुनेछ- हामी किन किरात हौं? हामी किन कुलुङ हौं भनेर गर्व गर्नुपर्छ? र हामी आफैँलाई हराउँदै गइरहेका छौं भन्ने डर मान्नु किन आवश्यक छ?

यसै अवसरमा, म आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान तर्फ पनि दृष्टि केन्द्रित गर्न चाहन्छु। राज्यको संविधानले आदिवासी जनजातिलाई अधिकार त दिएको छ- तर त्यो अधिकार तब मात्र सार्थक हुन्छ, जब भाषा, धर्म, र पहिचानको विषयमा गम्भीर योजना, बजेट, नीति र मनसायिक प्रतिबद्धता देखाइन्छ। संघसंस्थाहरूले मात्रै होइन- राज्य, स्थानीय निकाय, र शैक्षिक संस्थाहरूले पनि यस्तो प्रयासलाई साथ दिएको हुनुपर्दछ।

अन्त्यमा, यो पवित्र ग्रन्थका सर्जक, लेखक, सम्पादक, चित्रकार, आयोजक तथा सहभागी सम्पूर्णलाई विश्वमा छरिएर बसेका किरात कुलुङ भाषीको तर्फबाट अनि मेरो व्यक्तिगत तर्फबाट हृदयदेखि नै बधाई तथा शुभकामना टक्र्याउन चाहन्छु। साथै यही कामना गर्दछु कि-“कुलु रिदुम” जस्ता अमूल्य निधिहरू केवल पुस्तकालयसम्म सीमित नहोऊन्, ती पाठशालामा पढियोस्, घरमा सुनियोस्, समाजमा, व्यवहारमा उतारियोस्। यही नै विमोचनको साँचो सार्थकता हुनेछ।

सबै स्रष्टा, शोधकर्ता तथा आयोजक टोलीलाई पुनः बधाई एवं सम्पूर्ण कुलुङ समुदायलाई उज्यालो भविष्यको शुभकामना ।

धन्यवाद।
जय कुलुङ!
जय किरात!!
जय मुन्दुमवाद!!!
यहाँहरूकै  शुभेच्छुक
म,
(डा. सिएम खम्बू)
सुक्खिम, भारत

5 1 vote
Article Rating

आना दाइ मिने, छाप्व ...

0 Comments
Inline Feedbacks
View all comments